स्थानीयले वडा कार्यालयमा गरे तालाबन्दी

रौतहट : रौतहटको कटहरिया नगरपालिका वडा नम्बर १ को कार्यालयमा स्थानीय जनताले ताला बन्दी गरेका छन् । वडा अध्यक्ष भुपेन्द्र महतोले भू–माफियासँग मिलि भगत गरी एलानी  जग्गाको नक्कली कागजातको आधारमा चार किल्ला प्रमाणित गरेको आरोप लगाउँदै स्थानीयले तालाबन्दी गरेका हुन् ।

 

कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवास्थित विभिन्न ४ कितामा रहेका नौ विगहा दश कठ्ठा नेपाल सरकारको एलानी जग्गाको नक्कली लालपूर्जा लगायतका कागजातको आधारमा चार किला प्रमाणित गरेको विरुद्वमा वडा कार्यालयमा ताला बन्दी गरेको दिनेश दासले बताए ।

 

सो जग्गामा वर्षाैदेखि स्थानीय २ सय १० परिवार बस्दै आएका छन् । वडा अध्यक्षले आफूहरुलाई घरवारविहीन बनाउन लागेको स्थानीयले आरोप लगाएका छन् । वडा कार्यालयले चार किला प्रमाणित गरेपछि उक्त जग्गा बिक्री वितरणको बाटो खुलेको आरोप लगाउँदै स्थानीय आन्दोलित भएको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश साहले बताए ।

 

जग्गा विवादमा उचित समाधान गर्ने नगरप्रमुख साहको दावी छ । यसको बारेमा वडा वडाअध्यक्ष भुपेन्द्र महतोसँग जानकारी लिन खोज्दा जग्गा एलानी रहेको तर नगरपालिकामा मालपोत तिरेको रसिद ल्याएपछि आफुले चार किला प्रमाणित गरेको बताए । आफुले कुनै पनि जनतालाई घरबार विहीन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0