
अरमान कुमार उपाध्याय
२०८० पुस २६ |
रौतहट, पुस २६ । रौतहटको कटहरिया नगरपालिका- ८ का वडा अध्यक्षको कुटपिटबाट पत्रकार घाईते भएको छ । पिप्रापाेखरिया टोलमा अवस्थित प्रतिक्षालयको दुरुपयोग गरिएको भनी लेखिएको समाचारको विषयलाई लिएर वडा अध्यक्ष समिस बिक्रम साहले पत्रकार अशोक यादवमाथि कुटपिट गरेको हो ।
पत्रकार अशोक यादव प्रेस चौतारी नेपाल रौतहट शाखाका सदस्यसमेत हुन् । प्रेस चौतारी नेपाल रौतहट शाखाले बिहीबार एक विज्ञप्ति जारी गर्दै यादवमाथि भएको कुटपिट र दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यादवलाई कटहरिया नगरपालिका – ९ डुमरियाबाट वडा नं ८ पिपरा पोखरिया आउने क्रममा बीच बाटोमा रोकी चौतर्फी घेरा हालेर धारिलो हतियार(फाईटर) लगायत सामग्री प्रयोग गरी कुटपिट गरिएको थियो । समाचारको विषयलाई लिएर यसरी संचारकर्मीमाथि कुटपिट गर्नु निन्दनीय र कानुन विपरीत कार्य हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको आक्रमण रहेको प्रेस चौतारी नेपाल रौतहटले जनाएको छ ।
साथै घटनामा संलग्न कटहरिया नगरपालिका- ८ पिपरा पोखरियाका जितेन्द्र यादव, सिकिन्द्र यादव, छोटेलाल राय, प्रिन्स जयसवाल तथा समुन्द्र विक्रम शाह भनिने पशुराम शाहलाई तत्काल नियन्त्रणमा लिई सत्यतथ्य पत्ता लगाई कारबाही गर्न र पत्रकारलाई निर्वाध तथा निर्भिक रूपमा काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

























