
- काठमाडौं ।“सत्य सेवा सुरक्षणम्”को पवित्र नारा बोकेर अगाडि बढेको नेपाल प्रहरी र प्रहरीको पवित्र नारालाई बदनाम गराउनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल तल्लिन देखिएका छन् ।
प्रहरी उपरिक्षक कुमोध ढुंगेलको संरक्षणमा अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेडकाका ठग सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता र सुशिल सर्राफ सम्पर्क विहिन भएका छन् ।
अभियान डिजिटलको ठेगाना काठमाडौं रहे पनि सञ्चालकहरु दिपेश, ऋषिकान्त र सुशिलले वीरगंजको बसपार्क त्रिशुल चौकमा कार्यालय खोलेर वर्षौ देखि चिठ्ठा खेलाउदै आएका छन् । अभियानको मुख्य सञ्चालक दोलखा निवासी विष्णु प्रसाद काफ्ले रहे पनि वीरगंजका सञ्चालकहरुले ७ हजार ९ सय ९९ जना सदस्यहरु सँग बिगत २६ महिनामा करिब २४ करोड ४३ लाख ६९ हजार ४५० असुली गरी काफ्ले सँग बैमानी गरेपछि काफ्लेले चितवनमा दुरदृष्टि डिजिटल प्रा.लि. छुटै कम्पनि खोली चिठ्ठा खेलाउन सुरु गरेका छन् ।
अभियान डिजिटलले कम्पनि रजिष्टारको कार्यालयबाट टिभी एसेम्बलिङ्ग गरी विक्री वितरण गर्ने अनुमति लिए पनि वीरगंजमा प्रहरीको संरक्षणमा सञ्चालकहरुले चिठ्ठा खेलाउदै आएका छन् । बितेको २६ महिनासम्म प्रत्येक महिनामा चिठा खोल्दै कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु सदस्यहरुलाई परे पनि प्रायःलाई नदिई हालसम्म अल्झाएर राखेको र केही नपरेको सदस्यहरुलाई अन्तिममा सान्तावना स्वरुप ३२ हजारको टिभी दिने भनिए पनि सो पनि नदिई वीरगंजको कार्यालयमा सञ्चालकहरुले करिब १८ दिन देखि ताला झुण्डयाई सम्पर्क बिहिन हुँदा एजेन्ट र सदस्यहरु आफुहरु ठगिएको पिडा खेप्न बाध्य भएका छन् ।
नेपालमा चिठा खेलाउन बन्देज रहे पनि स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा अभियानले ठगी गरेको करोडौं रकम दम्पच गरी सदस्यहरुलाई सान्तावना पुरस्कार ३२ हजारको टिभी दिने भनिए पनि केही सदस्यहरुलाई कामै नलाग्ने १३ हजार ५ सयको टिभी थमाउदै गाली खादै हैरान भएका छन् । अभियानमा सदस्य बनेकाहरुले सान्तावना पुरस्कार र अन्य पुरस्कार नपाएका सदस्यहरुले करिब १५ दिन देखि दिनहुँ कार्यालयमै पुगी सञ्चालकहरुलाई तथानाम गाली गर्दै आ–आफ्नो पुरस्कार माग्न थाले पछि वीरगंज घडिअर्वा निवासी दिपेश वर्णवाल, नगवा निवासी ऋषिकान्त गुप्ता र रानीघाट निवासी सुशिल सर्राफले विष्णु प्रसाद काफ्लेलाई धोखा दिए जस्तै सदस्यहरुलाई पनि धोखा दिने काम गरिरहेको एक पिडितले बताए ।
कार्यालय बन्द हुँदा दिनहुँ सयकडौ सदस्यहरु हो–हल्ला गर्दै दुःखित भएर फर्किने गरेका छन् । तर पनि पर्साका प्रहरी उपरिक्षक ढुंगेलले अभियानका ठगहरुबाट करोडौं असुली लाजशर्म पच्चाएर ठग सञ्चालकहरुलाई संरक्षण गरिरहेको ती पिडितको भनाई रहेको छ ।
अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेडले वर्षौ दिन देखि चिठ्ठा खेलाई ठगी गर्दै गरेको समाचारहरु बाहिर आईरहंदा आफुलाई आँखाको डाक्टर र समाजसेवी बताउने महेश सिंह धामीले जति समाचार आए पनि केही नहुने भन्दै सञ्चालकहरुलाई आश्वस्त पार्दै गरेको समाचार स्रोतले जनाएको छ । डाक्टरको आवरणमा प्रहरी प्रशासनको दलाली गर्नमा माहिर देखिएका धामीले अभियान सँगको सेटिङ्ग गराएर आफु आफै र पर्साका प्रहरी प्रशासन र केही पत्रकारहरुलाई पनि मालामाल गराउदै आएको स्रोतको कथन रहेको छ । डा. धामीले वीरगंजमा अवैध कारोबार गर्नेहरु सँग मरमोलाई गरी प्रहरी प्रशासन सँग सेटिङ्ग गराउने उनको दिनचर्या नै बनेको बताईन्छ । डा. धामीको घण्टाघर भन्दा उत्तरतर्फको आँखा अस्पताल गल्लीमा क्लिनिक रहे पनि उनी क्लिनिकमा नबसी दिनभरी जिल्ला प्रहरी कार्यालय भित्र भौतारिदै गरेको जो कोहीले पनि सजिलै हेर्न सक्छ । यस सन्दर्भमा डा. धामी सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
अभियानकै नाममा AC प्रोजेक्ट सञ्चालन
अभियान डिजिटलका मुख्य सञ्चालक विष्णु प्रसाद काफ्लेलाई धोखा दिएर वीरगंजका सञ्चालकहरु दिपेश, ऋषिकान्त र सुशिलले करोडौं रकम दम्पच गरे पनि अभियानकै नाममा नयाँ स्किम (AC प्रोजेक्ट) बितेको जेठ महिना देखि सञ्चालन गरेका छन् ।
यस AC प्रोजेक्टको नयाँ कार्यक्रममा ६ हजार ९ सय ९९ जना सदस्यहरु बनाईएका छन् । प्रत्येक सदस्यहरु सँग प्रति महिना रु. २२५० को दरले मासिक रुपमा १ करोड ५७ लाख ४७ हजार ७५० असुली राखेका छन् । पुरानो स्किमको सदस्यहरुलाई ठगी गरी सञ्चालकहरु सम्पर्क विहिन भए पनि लुकिछिपी एजेन्टहरु मार्फत बितेको जेठ, असार र साउन महिना सम्ममा ४ करोड ७२ लाख ४३ हजार २५० रुपैया उठाई सकेको एक एजेन्टले नाम नछाप्ने शर्तमा बताए ।
ठग सञ्चालकहरुले अभियानको नाममा बुकहरु सदस्यहरुलाई वितरण गरे पनि अभियानकै नाममा सदस्यहरुबाट उठाईएको रकम अर्कै कम्पनि अल्ट्रा अभियान डिजिटल एलेक्ट्रा प्रा.लि. र डिजिटल ईलेक्ट्रोनिक्स सप्लायर्सको नाममा गरिमा विकास बैंक लिंकरोड वीरगंजमा खाता खोली एजेन्टहरु मार्फत रकम जम्मा गराउने गरेको स्रोतले जनाएको छ । सो खाताहरुमा ठगहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता र सुशिल सर्राफको संयुक्त हस्ताक्षर रहेको बताईएको छ ।
अभियानमा रहेका सदस्यहरुलाई मात्र युट्युबमा जोडी लुकिछिपी चिठ्ठा खोल्दै गरेका ठगहरु माथि पिडितहरुले लिखित रुपमा उजुरी दिन चाहे पनि केही एजेन्टहरुको दबावमा उजुरी दिन नसकेको जनाईएको छ । किनभने अभियानका सञ्चालकहरुले एजेन्टहरुलाई आफुले बनाएको सदस्यहरुलाई सम्झाई बुझाई गर्ने र सदस्यहरुले नमानी कसैले उजुरी दिएमा कुन एजेन्टले बनाएको सदस्य हो, सो एजेन्ट सँग क्षतिपूर्ती लिने शर्त अनुसार प्रायः एजेन्टहरु सँग सादा चेकमा सही गराई राखिएको स्रोतको भनाई रहेको छ । सयकडौं पिडित सदस्यहरुले उजुरी दिने तयारी गरे पनि एजेन्ट र सञ्चालकहरुले चिठ्ठा खेलाउने काम कानुन बिपरित रहेकोले कानुन अनुसार खेल्ने र खेलाउने दुबै दोषको भागिदार रहेको हुनाले यहाँहरुले उजुरी लिएर जाँदा प्रहरी प्रशासनले यहाँहरुलाई नै समात्ने भन्दै डर धाक देखाउदै भ्रममा पार्ने गरेको स्रोतले जनाएको छ ।
अभियानका ठगहरुको आन्तरिक कडा कानुन अनुसार सदस्य र एजेन्टहरु ठगिदै गएपनि उजुरी दिन नसकेको स्रोतले जनाएको छ । अभियानको काम चिठ्ठा खेलाई ठगी गर्ने र त्यसमा पनि नेपाल सरकारको लाखौं लाखको राजस्व हिनामिना गर्ने तर पनि प्रहरी उपरिक्षक कुमोध ढुंगेलको संरक्षणमा अझ पनि कैयौंले कहिलेसम्म ठगिने हुन ? पिडितहरु घर न घाटका भएका छन् ।
यस सन्दर्भमा अभियानका ठग सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता र सुशिल सर्राफ सँग मोबाईल फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा मोबाईलको स्विच अफ रहेको पाईयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























