
रौतहट ,पौष ८ गते
रौतहट: हालै सम्पन्न नेपाल प्रिमियर लिग (NPL) को फाइनल खेलमा जनकपुर बोल्ट्सले विजयी हासिल गरेपछि खेल हेरेर फर्किरहेका समर्थकहरूमाथि सांप्रदायिक हमला भएको घटना प्रकाशमा आएको छ। काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानबाट फर्किरहेका मधेसी समुदायका दर्शकहरूलाई कथित सुदूरपश्चिम रोयल्सका समर्थक भनिने पहाडी समुदायका युवाहरूले छालाको रङ, भेषभूषा, र बोलिचालीको आधारमा गालीगलौज, अपमानजनक व्यवहार, र कुटपिट गरेका थिए।
यस घटनाले सम्प्रदायिक सद्भाव खलबलिएको भन्दै जनमत पार्टीले गम्भीर आपत्ति जनाएको छ। पार्टीले यस्तो घृणित र विभेदपूर्ण घटनाको छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याउन सरकार र प्रशासनसँग जोडदार माग गरेको छ।
सिमानामा आवागमन अवरुद्ध, जनमत पार्टीले कारबाहीको माग गर्यो
रौतहट: रौतहट जिल्लाका विभिन्न छोटी भन्सार बिन्दुहरू—जस्तै ईशनाथ नगरपालिका वडा नं २ औरैया, वडा नं ४ लतमरी, परोहा नगरपालिका वडा नं ९ रामपुरखाप, बौधीमाई नगरपालिका वडा नं ७ बंकुल, र राजदेवी नगरपालिका वडा नं ८ लक्ष्मीपुर बेलबिछवा—बाट चारपाङ्ग्रे गाडीहरूको आवतजावत अवरुद्ध भएको छ।
नेपाल-भारत सिमाना परम्परागत रूपमा खुला सिमाना भएको र त्यसले दुई देशबीच बेटी-रोटीको सम्बन्धलाई बलियो बनाउँदै आएको सर्वविदितै छ। तर केही दिनदेखि सिमानामा अवरोध भएपछि स्थानीय बासिन्दा र व्यापारिक गतिविधिमा गम्भीर असर परेको छ।
जनमत पार्टीको जिल्ला समन्वय समितिले यो समस्याप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा अवरोध तत्काल समाधान गर्न र छोटी भन्सारहरू पुनः सञ्चालन गर्न माग गरिएको छ।
























