रौतहट असार ८ गते

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले रौतहटको वृन्दावन नगरपालिकाको नगरसभा स्थगित गर्न अन्तरिम आदेश दिएको छ।

आउँदो यही असार १० गते गर्न भनिएको वृन्दावन नगरपालिकाको ९ औं बजेट अधिवेशन तत्कालको लागि यथास्थितिमा राख्न अस्थायी इजलास वीरगन्जले आज अन्तरिम आदेश जारी गरेको छ।

अदालतको आदेश आएसँगै वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउन असार १० गरेका लागि आह्वान गरेको नगर अधिवेशन स्थगित भएको छ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश हरिप्रसाद जोशीको इजलासले आज यस्तो आदेश दिएको हो।

वृन्दावन नगर उप-प्रमुख संगीता देवी रामले नगरसभा तत्काल स्थगित गर्न अदालतमा उत्प्रेषणयुक्त परमादेशको माग गरेपछि अदालतले आज वृन्दावन नगरपालिकाको कार्यालय रौतहटलाई विपक्षी बनाउँदै पालिका कार्यालयको नाममा नगरसभा नगर्न अन्तरिम आदेश दिएको हो।

नगरसभाको सन्दर्भमा दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएको भन्दै यो मुद्दाको पेसी अदालतले यही आउँदो असार १३ गरेका लागि तोकेको छ।

नगरसभाको विषयमा छलफल गर्न अदालतले असार १३ गते नगर उप-प्रमुख राम र विपक्षी दुवैलाई अदालतमा बोलाएको छ।

असार १३ गते छलफल भई कुनै निष्कर्ष न निस्केसम्मका लागि नगरपालिका द्वारा असार १० गते बोलाइएको नगरसभा
नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको अदालतको पत्रमा उल्लेख छ।

अदालतले असार १३ गतेसम्मका लागि नगर अधिवेशन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै अब वृन्दावन नगरपालिकाले असार १३ गतेसम्म नगर अधिवेशन गर्न नपाउने भएको छ।

नगर प्रमुख विनोद प्रसाद कुर्मीले आफूसँग कुनै राय सल्लाह नै नगरी एकलौटी ढंगले नगरसभा गर्न लागेपछि आफूले अदालत गएर नगरसभा स्थगित गर्न मुद्दा हालेको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0