दिपेश कुमार शाह रौतहट,               असार १०                                    आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारको नीतिका कारण देशको आर्थिक अवस्था दिनप्रतिदिन खस्कँदै गएको बताउँदै, युवाहरू विदेशिन बाध्य भएको बताएका छन्।

रौतहटको मौलापुर नगरपालिकाको ९औँ नगरसभा तथा बजेट अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि साहले स्थानीय सरकारहरूको सिर्जनात्मक प्रयासबाट संघीय सरकारले सिक्नुपर्ने आवश्यकता औँल्याए।

मौलापुरले लागू गरेको शून्य कर नीति केन्द्र सरकारका लागि पाठ बन्न सक्छ,” भन्दै उनले करको भारले किसान, व्यापारी र उद्यमशील युवाहरू हतोत्साहित भई विदेशिने लहर बढेको बताए।

साहले नेपालको कर प्रणाली अत्यधिक रहेको भन्दै तुलना गर्दै भने, विदेशमा २१ प्रकारका कर छन् भने नेपालमा ४० किसिमका कर छन्। स्थानीय तहका ७६१ वटै सरकारले कर उठाउँदा उत्पादन लागत महंगो हुने र अर्थतन्त्र नै बिग्रने अवस्था आएको छ।

उनले खुला सीमाले अर्थतन्त्र बिग्रिएको भन्ने सरकारी दाबीलाई अस्वीकार गर्दै उदाहरण प्रस्तुत गरे मलेसियाको काठ नेपालमा सस्तो पर्छ तर नेपालकै काठ करोडौँको लागतमा खेर गएको छ।

पूर्वमन्त्री साहले सरकारप्रति व्यंग्य गर्दै भने, जुनसुकै परिवारमा आम्दानी गर्ने गार्जियनले परिवार चलाउँछ, तर यहाँ सरकार उल्टै जनतालाई चुस्नमै लागेको छ।

नगरसभामा मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादवले आर्थिक वर्ष २०८२/०८३ का लागि ३९ करोड ५० लाख रुपैयाँको नीति, कार्यक्रम तथा बजेट प्रस्ताव प्रस्तुत गरे।

मेयर रिना कुमारी साहले मौलापुर नगरपालिका शिक्षामैत्री नगरपालिका बन्ने लक्ष्यसहित कुल बजेटको ४० प्रतिशतभन्दा बढी शिक्षा क्षेत्रमा विनियोजन गरिएको जानकारी दिइन्।

उनले भनिन्, मौलापुरमा नगर प्रहरी छैन, नगर शिक्षक र नगर चिकित्सक छन्। शिक्षा र स्वास्थ्यमा लगानी गर्दै आइरहेका छौँ, जसको मूल्यांकनस्वरूप पोखरामा हालै सम्मान प्राप्त गरेका छौँ।

मेयर साहले ‘छोरीसँग मेयर’ कार्यक्रम निरन्तर जारी रहेको जनाउँदै विवाह हुने छोरीलाई ३० हजार नगद सहयोग दिइने व्यवस्था कायम रहेको बताइन्।

यसैगरी, मौलापुरले नमुना एकीकृत दलित बस्ती निर्माण, धुँवा चुलोमुक्त अभियान, पुरातात्विक महादेव मन्दिर संरक्षण, स्मार्ट कक्षा, प्राविधिक शिक्षाको विस्तार, साक्षरता अभियान, झोपडीमुक्त अभियान, तथा ‘हर हातमा सीप’ कार्यक्रमलाई आगामी वर्ष थप सशक्त रूपमा अगाडि बढाइने जनाइएको छ।

नगरसभा समारोहमा पूर्वसांसद समिना हुसैन, प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, सशस्त्र प्रहरी एसपी सन्तोष बस्नेत, अनुसन्धान विभागका एसपी कुमार बुढाथोकी, मालपोत कार्यालय प्रमुख कौशलकिशोर झा, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, विद्युत प्राधिकरण प्रमुख दिनेश यादव फतुया बिजय नगरपालिका मेयर प्रत्याशी विजय यादव निर्विज सहित विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी, तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0