
अरमान कुमार उपाध्याय , रौतहट, असार १५ — शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार तथा पुनर्स्थापन सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले रौतहटको बौधिमाई नगरपालिकामा विशेष निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिने भएको छ।
यो शिविर अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र (HRDC), बनेपा, काभ्रेपलाञ्चोक र विकलाङ्ग मित्र समूहको आयोजनामा तथा बौधिमाई नगरपालिकाको समन्वय र सहयोगमा आगामी २०७२ साल असार १५ गते आइतवार बिहान ९:०० बजेबाट बौधिमाई–६ स्थित पिपरीया स्वास्थ्य चौकीमा आयोजना गरिनेछ।
नगर प्रमुख प्रदीप कुमार यादव र प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीको विशेष पहल तथा सक्रिय समन्वयमा आयोजना हुन लागेको यो शिविर १८ वर्षमुनिका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिंदैछ।
शारीरिक अपाङ्गता भएका बालबालिकाको हाडजोर्नी तथा नशासम्बन्धी समस्याहरूको विशेषज्ञ परीक्षण, उपचार परामर्श, र पुनर्स्थापनसम्बन्धी सेवा प्रदान गरिनेछ।
शिविरमा समेटिने प्रमुख स्वास्थ्य अवस्थाहरू:
जन्मजात खुट्टाको पैतला भित्र फर्किएको (क्लब फुट)
आगोले पोलेर अङ्गहरू आपसमा टाँसिएको अवस्था
हड्डी भाँचिएर बाङ्गिएको वा नजोडिएको ढाड बाङ्गो वा कुप्रो देखिने अवस्था घुँडाको पाङ्ग्रा खुस्किने, जोर्नी दुख्ने वा सुन्निने
हड्डीमा पिप आउने वा क्षयरोग (टी.भी.) को लक्षण औंलाहरू बढी भएको वा टाँसिएको अवस्था शरीरका अन्य भागहरू बाङ्गिएको वा खुस्किएको कृत्रिम अङ्ग वा सहायक सामग्रीको आवश्यकता पर्ने अवस्था
शारीरिक अपाङ्गता प्रारम्भिक चरणमै पहिचान गरी समयमै उपचार तथा पुनर्स्थापन गर्न सकिने भएकाले यो शिविर बालबालिकाको भविष्य सुरक्षित बनाउने महत्वपूर्ण अवसर हुने आयोजक संस्थाको भनाइ छ।
स्थानीय अभिभावक, विद्यालय शिक्षक, सामाजिक अभियन्ता तथा सरोकारवालाहरुलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा शिविरमा सहभागी गराउन अनुरोध गरिएको छ।

























