
असार १९ गते रौतहट रौतहट –४ स्थित टिकुलिया घाटमा निर्माणाधीन पुल १४ वर्षदेखि अलपत्र पर्दै आएको छ। गौर र इसनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमा सो पुल समयमै निर्माण सम्पन्न हुन नसक्दा सर्वसाधारण अहिले पनि जोखिमपूर्ण डुङ्गा यात्रामा निर्भर छन्।
दिनहुँ डुङ्गामा चढेर नदी पार गर्नुपर्ने स्थानीयवासीहरू डर र त्रासका बीच यात्रा गर्न बाध्य छन्। विशेषगरी वृद्धवृद्धा, बालबालिका, सुत्केरी महिला र विद्यार्थीहरूका लागि डुङ्गा यात्रा अझै कष्टकर पूर्ण बनिरहेको छ।
२०७१ साल असार २९ गते १४ करोड ९३ लाख २७ हजार रुपैयाँमा पप्पु कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का पाएको थियो। सम्झौता अनुसार २०७५ साल असार २५ गतेभित्र पुल निर्माण सम्पन्न हुनुपर्ने थियो। तर चार वर्षसम्म झिनो प्रगति देखाएर पप्पुले पुल अधुरै छाडेपछि स्थानीयको आक्रोश चुलिएको थियो।
त्यसपछि २०८० असोज ९ गते ‘आजाद–दिपु जेभी’ कम्पनीसँग बाँकी निर्माण कार्यका लागि २७ करोड ६६ लाख रुपैयाँमा पुनः ठेक्का सम्झौता गरियो। तर यो कम्पनीले पनि २०८१ चैत १ गतेभित्र पुल सम्पन्न गर्ने प्रतिबद्धता जनाए तापनि सरकारले बजेट नदिएको भन्दै काम रोकिदिएको छ।
पुल नहुँदा गौर र इसनाथ नगरपालिकाका बासिन्दा दिनहुँ डुङ्गामा यात्रा गरिरहेका छन्। वर्षा तथा बाढीका बेला यो यात्रा झन् खतरनाक हुन्छ। खासगरी वर्ष २०७५ मा टिकुलिया घाटमै भएको डुङ्गा दुर्घटनाले अझै पनि स्थानीयवासीहरूलाई झस्काउने गर्छ। सो दुर्घटनामा बन्जाराहतर्फबाट गौर आउँदै गरेका पाँच जनाको डुङ्गा पल्टिँदा मृत्यु भएको थियो।
त्यसपछि केही समय डुङ्गा प्रयोग नगरे पनि विकल्प नभएकाले स्थानीय पुनः डुङ्गामै निर्भर बन्न पुगे। अहिले बाहिरी व्यक्तिले एकचोटी नदी तर्न ३० रुपैयाँ तिर्नुपर्छ भने गौर र इसनाथ नगरपालिकाका बासिन्दालाई यस वर्ष निःशुल्क सेवा दिइएको डुङ्गा चालक ५१ वर्षीय पतिराम सहनी बताउँछन्।
स्थानीयवासीहरू सरकार र ठेकेदार दुबै प्रति आक्रोशित छन्। ‘विकास भन्ने नारामात्र हुन्छ, काम हुँदैन’,टिकुलिया निवासी राम अवतार साहको गुनासो छ। पुल निर्माणको नाममा वर्षौंदेखि राजनीति र ठेकदारीको खेल भइरहेको साहको भनाइ छ।
टिकुलियाको यो अधुरो पुल अहिले विकासको प्रतीक होइन, सरकार र निकायहरूको उदासीनताको ऐना बनेको छ। वर्षौंदेखि सुस्त गतिमा निर्माण भइरहेका पुलहरू रौतहटमा धेरै छन्, तर टिकुलिया घाटको पुल समस्याले आम जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पारेको छ।
स्थानीय बासिन्दा, जनप्रतिनिधि र नागरिक समाजले सम्बन्धित मन्त्रालय र सडक विभागलाई तत्काल बजेट विनियोजन गरेर निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन्। यदि पुनः ढिलाइ गरिए स्थानीय आन्दोलित हुने चेतावनीसमेत दिँदै आएको छ।
रौतहटको गौर र इसनाथलाई विकासको मुहान जोड्ने सपना बोकेको यो पुल १४ वर्षदेखि सपना मात्र बनेको छ।
























