
रन्धिर गुप्ता असार २६ गते रौतहट प्रहरीले ठुलो परिमाणमा स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । आज रौतहट प्रहरीले सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर २ निवासी चन्दन पण्डितलाई पक्राउ गरेको रौतहटका इन्स्पेक्टर रुद्र राज खरेलले जनाएको हो ।
साथै प्रहरीले पण्डितको साथबाट बीआर ०३ जे ९५४३ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ । बिहीबार बिहान पण्डितले भारतबाट गौरतर्फ आउँदै गरेको अवस्था पक्राउ परेको छ । उनले चलाई रहेको भारतीय नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा प्रहरीले १२ लाख ७३ हजार ३ सय स्रोत नखुलेको रकमसहित पण्डितलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको विशेष टोलीले गौर भन्सार नजिक जाँच गर्ने क्रममा गरेको थियो । चेक जाँच गर्दा ब्याग बोकेर गौरतर्फ आइरहेका पण्डितले शङ्कास्पद गतिविधि गरेपछि नियन्त्रणमा लिइएको हो ।
इन्स्पेक्टर खरेल दिएको जानाकरी अनुसार पण्डितको झोलाबाट स्रोत नखुलेको १२ लाख ७३ हजार ३ सय बरामद भएको छ । उक्त झोलाबाट ९ लाख २८ हजार ५ सय रुपैयाँ नेपाली र २ लाख १५ हजार रुपैयाँ भारतीय फेला परेको छ ।
स्रोत नखुलेको पैसा र मोटरसाइकलसहित पक्राउ परेका पण्डितलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
























