खानेपानी संकटको विषय उठाउँदै यादवले खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्यसँग विस्तृत छलफल गरेका छन्। मधेस प्रदेशका अधिकांश जिल्लाहरूमा अहिले पानीको समस्या गहिरिँदै गएको सन्दर्भमा रौतहट जिल्लाको अवस्था झनै दयनीय रहेको मेयर यादवले बताएका छन्। “बौधीमाई नगरका कतिपय बस्तीहरूमा खानेपानीको चरम अभाव छ। सरकारी धारा सुकिसकेको छ, इनारहरू पनि उपयोगविहीन बनेका छन्। यस्तोमा पानीको दीर्घकालीन समाधानका लागि संघीय सरकारको साथ आवश्यक छ,” यादवले भने।सचिव बज्राचार्यले समस्या प्रति गम्भीर चासो व्यक्त गर्दै मन्त्रालयद्वारा छिट्टै प्राविधिक टोली पठाइ समस्या अध्ययन गर्ने र तत्काल राहतका लागि वैकल्पिक उपायहरूबारे छलफल अघि बढाउने प्रतिबद्धता जनाएकी छन्। उनले मधेस प्रदेशका आठवटै जिल्लामा जल स्रोतको समस्या रहेको स्वीकार गर्दै सरकारले यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन्।
यस्तै, नगर प्रमुख यादवले नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेसँग पनि भेटघाट गरेका छन्। भेटमा स्थानीय सरकारहरूको सशक्तिकरण, प्रशासनिक सेवा प्रवाहमा सहजीकरण, विकास बजेटको विनियोजन र स्थानीय कर्मचारी व्यवस्थापनका विषयमा छलफल भएको यादवले जानकारी दिए।
“हामी स्थानीय तहमा जनताको नजिक छौं। तर संघीय सरकारको सहयोग र समन्वय बिना स्थानीय आवश्यकता पुरा गर्न सम्भव छैन,” मेयर यादवले मन्त्री न्यौपानेसँगको भेटमा भनेका छन्। मन्त्री न्यौपानेले पनि स्थानीय तहलाई सशक्त बनाउन मन्त्रालय पूर्णतः प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा समन्वयात्मक रूपमा काम अगाडि बढाइने विश्वास दिलाएकी छन्।
काठमाडौंमा भएको यी उच्चस्तरीय भेटघाटहरूलाई बौधीमाई नगरका स्थानीयबासीहरूले आशाको संकेतको रूपमा लिएका छन्। नगरका बासिन्दा गोपाल साह भन्छन्, “हामी दशकौंदेखि खानेपानीको समस्यामा छौं। अब नगर प्रमुखले संघीय सरकारलाई हाम्रो पीडा सुनाउनु भएकोमा हामी आशावादी भएका छौं।”
नगर प्रमुख यादवले आफू काठमाडौं भ्रमणबाट सकारात्मक संकेत लिएर फर्किएको बताउँदै चाँडै केही राहत ल्याउन सक्ने काम अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। “खानेपानी मात्र होइन, प्रशासनिक सहजीकरण र विकास बजेटको कुशल उपयोगका लागि पनि संघीय तहसँग सहकार्य आवश्यक छ। हामी त्यो बाटोमा लागेका छौं,” उनले भने।