
रन्धिर गुप्ता । साउन ९ गते रौतहट । रौतहटमा वैद्युतका कारण २७ जनाको मृत्यु भएको छ । जस मध्ये वैद्युत मोटरकै कारण धेरै जसो किसानको मृत्यु भएको हो । यो साउन महिनामा मात्रै एक सप्ताह भित्र ४ जनाको खेतमा वैद्युत मोटरबाट पानी हाल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
सुरक्षाको बेवास्ताले रौतहटमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । ज्यान गुमाउनेको संख्या बढेपछि रौतहट प्रहरी प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रहरीका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा मात्रै करेन्ट लागेर २३ जनाको मृत्यु भएको थियो भने चालू आर्थिक वर्ष २०८२/८३ को असार ८ गतेसम्म थप ४ जनाको मृत्यु भइसकेको छ । यसरी २७ जनाको करेन्ट लागेर ज्यान गएको छ ।
पछिल्लो पटक रौतहटको मौलापुर नगरपालिका ७, ननकार पथराका नगर प्रवक्ता तथा आम जनता पार्टीका नेता चन्देश्वर बैठाको करेन्ट लागेर ज्यान गएको थियो । प्रहरीद्वारा जारी सूचनामा खेतबारी, घर, खोला, नाला वा भिजेको जमिनमा विद्युतीय उपकरण वा मोटर चलाउँदा विशेष सतर्कता अपनाउन भनिएको छ।
साथै, बिजुली मर्मत तथा जडान कार्य केवल दक्ष इलेक्ट्रीशियनबाट मात्र गराउन, तारको अस्थायी प्रयोग नगर्न, चोरी विद्युत हुकिङ नगर्न, र बालबालिकालाई यस्ता जोखिमयुक्त स्थान र उपकरणबाट टाढा राख्न अनुरोध गरिएको छ ।
खेतबारीमा मोटर जडान गर्दा वा मर्मत कार्य गर्दा एक्लै नगई दोस्रो व्यक्तिलाई साथमा राख्न र रातको समयमा अँध्यारोमा तार तान्ने वा मोटर चलाउने कार्य नगर्न चेतावनी दिइएको छ ।
























