सर्लाही,साउन ३०
मलंगवा नगरपालिका वडा न–८ अन्तर्गत रिंग रोड हुलाकी सडकमा अवस्थित पद्मरत्न विद्या मन्दिर स्कुलदेखि पूर्व तर्फको बस्तीलाई औपचारिक रूपमा ‘बज्जिका नगर’ नामाकरण गरिएको छ। शुक्रबार आयोजित विशेष समारोहमा बज्जिका साहित्य समाज सर्लाहीका सचिव मुकेश कुमार मिश्रको अध्यक्षता र वडा अध्यक्ष मुकेश जयसवालको प्रमुख आतिथ्यतामा टोलको विधिवत नामांकन तथा उद्घाटन गरिएको हो।
कार्यक्रममा विशिष्ट अतिथि बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा, भारत बिहार सितामढीका कवि कमरुदिन नदाफ, इन्द्रा कुशवाहा, कवियत्री ललिता देवी कुशवाहा, इन्जिनियर शिवशंकर साह रौनियार, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम यादव लगायत साहित्यकार, पत्रकार तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
सोही अवसरमा मलंगवाबाट पत्रकार मनोज यादवको प्रकाशन तथा विजय कुमार यादवको सम्पादनमा प्रकाशित मधेश दूत राष्ट्रिय दैनिक पत्रिकाको विमोचन पनि सम्पन्न भयो। उपस्थित अतिथिहरुले पत्रिकाले बज्जिका भाषाका साहित्यकार र साहित्यिक गतिविधिका लागि छुट्याइएको पृष्ठको प्रशंसा गर्दै प्रकाशक यादवलाई धन्यवाद ज्ञापन गरे।
वडा अध्यक्ष जयसवालले बज्जिका नगरको नामांकनप्रति खुसी व्यक्त गर्दै टोलको पहिचान र भाषिक–सांस्कृतिक संरक्षणका लागि गरिएको पहल सराहनीय रहेको बताए। उनले नगरको समग्र विकासका लागि वडा र व्यक्तिगत स्तरबाट सम्भव सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0