
दिपेस कुमार शाह / साउन ३० गते रौतहट — विजयरपुर नगरपालिकाकी नवनिर्वाचित नगरप्रमुख अम्बेद्या खातुनले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ६५ करोड ३२ लाख ९५ हजार ९१७ को बजेट सार्वजनिक गर्दै आगामी वर्षका प्राथमिकता घोषणा गरेकी छन्। नगरसभामा प्रस्तुत प्रतिवेदनअनुसार, आर्थिक, सामाजिक, पूर्वाधार, वन तथा वातावरण व्यवस्थापन, विपद् व्यवस्थापन र संस्थागत सुधारलाई विशेष महत्व दिइनेछ।
आर्थिक विकासका लागि प्रदेश सरकारको विशेष अनुदानबाट सडक, विद्युतिकरण र मोटर वितरणमा १५ लाख रुपैयाँ खर्च गरिनेछ भने केन्द्र सरकारबाट प्राप्त रकम स्वास्थ्य तथा पूर्वाधार विस्तारमा लगानी गरिनेछ।
सामाजिक क्षेत्रमा आधुनिक औषधि, स्वास्थ्य उपकरण, जनचेतनामूलक कार्यक्रम र विद्यार्थीका लागि निःशुल्क पोषण सामग्री वितरणको योजना रहेको छ।
पूर्वाधार निर्माणतर्फ प्रदेश सरकारबाट स्वास्थ्य चौकी भवन, ३ वटा कल्भर्ट निर्माण हुनेछ भने नगरपालिकाको बजेटबाट ९ कल्भर्ट, २० किमी PCC सडक, २० किमी ग्राभेल सडक, ६ किमी नयाँ ट्र्याक, ९ किमी ड्रेनेज तथा १० सार्वजनिक भवन निर्माण गरिनेछ।
विपद् व्यवस्थापनतर्फ विपद् प्रभावितलाई तत्काल राहत र सहयोग उपलब्ध गराइनेछ। संस्थागत सुधारका लागि LISA सूचकाङ्कमा सुधार, सार्वजनिक सुनुवाइ, वार्षिक योजना, Gender Audit र उपभोक्ता समिति तालिम सञ्चालन गरिने योजना छ।
नगरप्रमुख खातुनले जनताले देख्ने र महसुस गर्ने विकासलाई प्राथमिकता दिने बताउँदै, “आगामी वर्ष पूर्वाधार विस्तारसँगै शिक्षा, स्वास्थ्य र वातावरणमैत्री योजनामा नगरको ध्यान केन्द्रित हुनेछ,” भनिन्।
यसैबीच, फुतुवा विजयरपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ५६ करोड ३२ लाख ९५ हजार १५१ को बजेट प्रस्तुत गरेको छ। नगरसभाको ९औं अधिवेशनमा कार्यबाहक नगरप्रमुख अम्बेद्या खातुनको निर्देशनमा वडा नं. ९ का अध्यक्ष राकेश यादवले बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तावित बजेटमध्ये रु. २० करोड ६८ लाख ७१ हजार पूँजीगततर्फ र रु. ३५ करोड ६४ लाख २४ हजार १५१ चालूतर्फ विनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, कृषि, पोषण र रोजगारीजस्ता क्षेत्रमा विशेष प्राथमिकता दिइएको यादवले जानकारी दिए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवका अनुसार, समृद्ध पालिका निर्माणका लागि आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, वन–वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत सेवा प्रवाह, भूमिहीन सुकुम्बासी, पोषण, रोजगारी र लघु उद्यमजस्ता शीर्षकमा बजेट छुट्याइएको छ।
यस वर्ष वडा नं. ९, १० र ११ का ८४ जना भूमिहीन सुकुम्बासीलाई जग्गा दर्ता प्रमाण–पुर्जा वितरण गरिनेछ भने वडा नं. १ देखि ११ सम्मका भूमिहीनहरूको सर्वेक्षण तथा तथ्यांक संकलन गरिने योजना रहेको छ।
नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि र पशु सेवा क्षेत्रलाई बजेट निर्माणमा अग्रता दिइएको हो। नगरसभा कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, लेखापाल कामेश्वर सहनी, प्रदेशसभा सदस्य प्रत्याशी समाजसेवी मोहम्मद शेराज, नगरपालिकाका कर्मचारी, पत्रकार तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
























