
पर्सा १५ गते साझेदारी दैनिक
टिकटकर किरण साहलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले पर्सा प्रहरीले अनुमति दिएको छ।
सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा उनी पक्राउ परेकी हुन्।
साह विरुद्ध साइबर तथा विद्युतीय अपराध, सङ्घीय सांसदलाई धम्की दिएको र झुटा अफवाह फैलाएको कसुरमा म्याद लिएर थप अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले साझेदारी दैनिकलाई जानकारी दिए।
बाराको कलैया उपमहानगरपालिका–२६ सिस्वा महेशपुर उनको स्थायी घर हो। उनी हाल वीरगञ्ज–१३ मुर्ली बस्दै आएकी साहलाई शनिवार पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो। मन्त्री यादव र मेयर सिंहले साहले आफूहरूलाई ज्यान मार्ने धम्की दिएको गुनासो गरेका थिए।
वीरगञ्जमा फैलिएको भनिएको हैजा सङ्क्रमणको विषयलाई लिएर मन्त्री यादवसँग फोनमा चर्को स्वरमा कुराकानी गरेकोसंवादको अडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ। साहले टिकटकमा समेत भिडियो बनाएर मन्त्री यादव र मेयर सिंहलाई धम्की दिएको आरोप लगाइएको छ।
वीरगञ्जमा हैजाको कारण मृत्यु भएको दाबी गरेकी छन् । उनले हैजाको कारण खानेपानी मन्त्री यादव र मेयर सिंहले जडान गरेको बोरिङको पानी जिम्मेवार रहेको आरोप लगाएकी छन्।
























