
दिपेश कुमार शाह आशौज २ गते रौतहट, कटहरिया
नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा, लायन्स क्लब अफ जनकपुर मिथिला सिटीको सहकार्य र कटहरिया नगरपालिका वडा नं. ४ को समन्वयमा एक दिने मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तालिम सम्पन्न भएको छ।कटहरिया नगरपालिका–४ स्थित श्री रामजानकी मठ (विवाह भवन)मा सम्पन्न तालिममा करिब १५० जना विद्यार्थी तथा युवाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, आत्मविश्वास वृद्धि र सामाजिक जिम्मेवारीजस्ता विषयमा सहभागीलाई विस्तृत जानकारी दिइएको थियो।
वडा अध्यक्ष चन्दन कुशवाहाले आफ्नो भनाइमा युवाको मानसिक स्वास्थ्य सुदृढ बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो युवाहरु मानसिक रुपमा सुदृढ, कर्मठ र उद्यमी बन्न सके मात्र समृद्ध नेपाल निर्माण सम्भव छ। मानसिक स्वास्थ्यलाई उपेक्षा गर्नु भनेको भविष्यलाई जोखिममा पार्नु हो।यसैगरी, कटहरिया नगरपालिका स्वास्थ्य प्रमुख दिनेश प्रसाद यादवले मानसिक स्वास्थ्यको महत्व, आत्महत्या रोकथामका उपाय र आवश्यकतामा सहयोग लिन सकिने माध्यमबारे विद्यार्थीलाई जानकारी दिनुभयो।
त्यस्तै इलाका प्रहरी कार्यालय, कटहरियाका सई धर्मेन्द्र पौडेलले विद्यार्थीलाई अनुशासन, सामाजिक सुरक्षामा युवाको भूमिका र साइबर सुरक्षाबारे सचेतना दिनुभयो।आयोजक संस्थाका अनुसार, यस्तो तालिमले ग्रामीण क्षेत्रमा बस्ने युवालाई मानसिक स्वास्थ्यप्रति सचेत गराउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
























