असोज १५ गते ,बिहीबार                                           pradip smart

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा बिहीबार वृन्दावन नगरपालिका–८ बहुअरीस्थित दलित धर्मशालामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

“लोकतन्त्रको मूल आधार– सम्मान, सहभागिता र विभेदमुक्त समाज; अभिव्यक्ति स्वातन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा विजयादशमी, दीपावली, तिहार र छठ पर्वको अवसरमा आपसी शुभकामना आदानप्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता संघका रौतहट अध्यक्ष राजेश पासवान (निर्माणी)ले गरेका थिए भने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् संघका केन्द्रीय सचिव सिकिन्द्र पासवान प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

संस्थापक जिल्ला अध्यक्ष राजेश पासवान (निर्माणी)ले कार्यक्रमलाई सम्बोधन गर्दै मधेसका दलित समुदायमाथि भइरहेका अन्याय, अत्याचार, बलात्कार र जातीय विभेदका घटनाप्रति चिन्ता व्यक्त गरे। उनले दलित अगुवाहरूलाई निष्क्रियता त्यागी एकताबद्ध भएर सामाजिक न्यायका लागि जागरण अभियान अघि बढाउन आह्वान गरे। साथै, पत्रकारिता कुनै जात, धर्म वा वर्ग विशेषको नभई जनताको सामूहिक आवाजका रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिए।

उनले दलित समुदाय अझै राज्यको पहुँचबाट टाढा रहेकाले विभेद र अन्यायको शिकार भइरहेका विषयमा पत्रकारहरूले संवेदनशील भएर मुद्दा उठाउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमका क्रममा अध्यक्ष पासवानले संघमा आवद्ध पदाधिकारी तथा सञ्चारकर्मीलाई ब्याग वितरण गरेका थिए। उनले यसअघि पनि प्रमाणपत्र, प्रेस कार्ड, ब्यागलगायत सामग्री वितरण गर्दै संघीय गतिविधिलाई सुदृढ बनाउने काम भइरहेको बताए। साथै, पदाधिकारीहरूले प्रदान गरिएका सामग्रीको दुरुपयोग नगरी जिम्मेवारीपूर्वक प्रयोग गर्न निर्देशनसमेत दिए।

कार्यक्रममा वृन्दावन–८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह, जगन्नाथ प्रसाद भेडिहर, दलित अधिकारकर्मी मटुक पासवान, धर्मेन्द्र पासवान, रामविनय पासवान, दलित संघर्ष समितिका संयोजक सोनेलाल राम, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

त्यसैगरी, दलित अधिकारकर्मी पुनित राम चमार, उदयनारायण राम, अवधनारायण राम, प्र.अ. रामाधार पासवान, भोला पासवान, मुसहर संघका अध्यक्ष विनोद माझी, राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाराका अध्यक्ष उपेन्द्र पासवानसहित रौतहट, बारा र पर्साका सयौँ सञ्चारकर्मी र अधिकारकर्मीहरूको सहभागिता उल्लेख्य थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0