
कार्तिक २०८२/७/१० गते
नेपालमा दलित समुदायका नाममा अगुवागिरी गर्ने धेरै व्यक्ति आज धन, गाडी, घर, पद, प्रतिष्ठाको आडमा विलासी जीवन बाँचिरहेका छन्, तर वास्तविक दलित समाज अझै अधिकार, सम्मान र अवसरको पहुँचभन्दा धेरै टाढा छ।
चाडपर्व, धार्मिक कार्यक्रम, वा सामाजिक अवसरहरूमा अझै पनि विभेदको तीतो स्वाद झल्किन्छ। दलित समुदायका मानिसहरूलाई पर धकेल्ने, पानी पिउन नदिने, भोजनमा विभेद गर्ने जस्ता घटनाहरू अझै पनि समाजको मुटुमा बसिरहेका छन्। यस्तो विभेदकारी सोच र व्यवहार कहिले अन्त्य हुन्छ? कसले अन्त्य गर्छ?
दलित समुदायका अगुवा र नेताहरू -तपाईंहरू कहाँ हराउनुभयो? दलितको नाममा संस्था दर्ता गरी अधिकारका नाममा लाखौं-करोडौं रकम उठाउने तर आफ्नो समुदायका पीडित आवाजहरू सुन्न नसक्ने तपाईंहरूलाई के यो समाजको वास्तविकता देखिँदैन?
संविधानले दिएको समानता र अधिकारका धारा कागजमै सीमित भएका छन्। संविधानसभाले दिएको अधिकार सडकमा, गाउँमा, विद्यालयमा, कार्यालयमा, र मन्दिरमा किन कार्यान्वयन हुन सकेन? चुनाव आउँदा मात्रै दलित घरमा भात, तरकारी, चिया, खाजा लिएर नाटक गर्ने नेताहरू, तपाईंहरूलाई लाज लाग्दैन?
दलित समुदाय आज पनि विद्यालयमा, समाजमा, रोजगारीमा, मन्दिरमा, र राजनीतिमा विभेदको सिकार बनेको छ। यो देशमा समानता र न्यायको कुरा गर्नेहरूकै व्यवहारमा असमानता र पाखण्ड भरिएको छ।
अब समय आएको छ -दलित समुदायका युवा, शिक्षित वर्ग र सचेत नागरिकहरूले आफूभित्रको चेतना जगाउने। अधिकार माग्ने होइन, प्रयोग गर्ने। समानताको कुरा गर्ने होइन, व्यवहारमा उतार्ने।
दलितको नाममा राजनीति गर्ने होइन, दलितको हक, अधिकार र सम्मानका लागि सच्चा लडाइँ लड्ने समय यही हो।
























