अरमान कुमार उपाध्याय                                                       पौष १६ गते
रौतहट । बौधिमाई नगरपालिकाले नगर क्षेत्रभित्र अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न अन्तिम सूचना जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालय, सरमुजवा रौतहटले मिति २०८२/०९/१६ गते सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गामा बनेका घरटहरा हटाउन निर्देशन दिएको हो।
नगरपालिकाको निर्णय अनुसार वडा नं. ८ सरमुजवा स्थित दुर्गा मन्दिरदेखि पश्चिमतर्फको सार्वजनिक जग्गामा अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा तथा अन्य संरचना हालसम्म पनि खाली नगरिएको जनाइएको छ। यसअघि मिति २०८१/०९/०४ गते सूचना प्रकाशित गरिए पनि केही व्यक्तिहरूले अतिक्रमित जग्गा खाली नगरेपछि पुनः अन्तिम चेतावनी दिइएको नगरपालिकाले जनाएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा मुलुकी संहिता, २०७४ को प्रावधान अनुसार अतिक्रमित जग्गा खाली गराउनका लागि अन्तिम पटक ३ (तीन) दिनको समय दिइएको सूचनामा उल्लेख छ। तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने कानुन बमोजिम नगरपालिकाले बल प्रयोग गरी संरचना हटाउने र त्यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित पक्ष स्वयं हुने चेतावनी दिइएको छ।
नगर प्रमुख प्रदिप कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै नगरवासीलाई नगरपालिकाको निर्णय पालना गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0