अरमान कु. उपाध्याय                                                         माघ ६ गते
काठमाडौं । आम जनता पार्टी (आजपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं. ३ बाट आधिकारिक उम्मेदवारको रूपमा रुपसागर उपाध्यायलाई टिकट प्रदान तथा मनोनयन दर्ता कार्य गरेको छ।
आजपा केन्द्रिय सदस्यसमेत रहनुभएकी उपाध्याय रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. ८, सरमुज्वाकी महिला नेत्री हुनुहुन्छ। पार्टीको केन्द्रिय निर्णयअनुसार उहाँलाई काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाइएको हो।
पार्टीले महिलाको सशक्त सहभागिता, समावेशी प्रतिनिधित्व तथा जनमुखी राजनीतिको प्रवर्द्धन गर्ने उद्देश्यले उपाध्यायलाई उम्मेदवार चयन गरेको जनाएको छ। लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहनुभएकी उपाध्यायले जनताको हकहित, सुशासन र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आजपा नेतृत्वले काठमाडौं–३ मा परिवर्तन र नयाँ राजनीतिक संस्कृतिको आवश्यकता रहेको बताउँदै उपाध्यायको उम्मेदवारीले जनताको विश्वास जित्ने अपेक्षा गरेको हो। मेरो उम्मेदवारी किन ? — जनताको हकहित, विकास, शिक्षा र स्वास्थ्यका लागि प्रतिबद्धता
देशको वर्तमान राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थालाई मध्यनजर गर्दै जनताको हकहित, समग्र विकास, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि मैले उम्मेदवारी घोषणा गरेको हुँ।
आज पनि आम नागरिक आधारभूत आवश्यकता—शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारबाट वञ्चित छन्। जनताको आवाज नीतिनिर्माण तहसम्म नपुग्दा विकासको गति सुस्त बनेको छ। यही अवस्थालाई परिवर्तन गर्दै जनताको पक्षमा सशक्त आवाज उठाउन मेरो उम्मेदवारी केन्द्रित छ।
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै गुणस्तरीय, व्यवहारिक र रोजगारीमुखी शिक्षा प्रणाली विकास गर्नु, गरिब तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति र शैक्षिक पहुँच विस्तार गर्नु मेरो प्रमुख एजेन्डा हो। त्यस्तै, प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मान्यताका साथ स्वास्थ्य संरचना मजबुत बनाउने प्रतिवद्धता व्यक्त गर्दछु।
समग्र विकासका लागि सडक, खानेपानी, सिचाइ, रोजगारी र डिजिटल पहुँच विस्तार गर्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। साथै महिला, दलित, किसान, मजदुर तथा पछाडि पारिएका समुदायको हकअधिकार सुनिश्चित गर्दै समानता र सामाजिक न्याय कायम गर्न निरन्तर लाग्ने प्रतिबद्धता रहेको छ।
मेरो उम्मेदवारी कुनै पद वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको सेवाका लागि हो। जनताको आवाज संसदसम्म पुर्‍याई पारदर्शी, उत्तरदायी र जनमुखी शासन प्रणाली स्थापना गर्नु नै मेरो मुख्य उद्देश्य हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0