रौतहट ।

आषाढ ०६ गते, बिहीबार ।

रौतहट जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिकाको एघारौ नगरसभा तथा आठौं बजेट अधिवेशन सम्पन्न भएको छ ।

यस वर्ष जिल्लामा दोश्रो पालिकाको रुपमा गरुडा नगरपालिकाले गरुडा स्थित रहेको कल्वार धर्मशालामा  मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्य तथा गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न भएको नगरपालिकाको एघारौ नगरसभाले आर्थिक वर्ष २०८१÷०८२ मा नगरको समग्र विकासका लागि ७०  करोड  २० लाख ५९  हजार रुपैयाँ आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।

कार्यक्रममा नगर उपप्रमुख पुनम देवि चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेकी थिइन । आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरिएको नगर उपप्रमुख चौधरीले बताइन ।

शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको उनले बताए ।

यसका अलावा समावेशीकरण÷गरिबी निवारण तथा कला, संस्कृति, खेलकुद, पूर्वाधार विकास, सिँचाइ, भवन तथा सहरी विकास, सञ्चार, वातावरण तथा विपत् व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रम, संस्थागत विकास तथा सुशासनसम्बन्धी नीति तथा कार्यक्रमलगायतमा आवश्यक बजेट तथा योजनाहरू सञ्चालन गरिने मेयर जयसवालले उल्लेख गरेका छन् ।

संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, शशर्त अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गरिएको नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले बताएका छन ।

सभामा बोल्दै नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले सिमित स्रोत साधनको बावजुद केही महत्वाकांक्षी तथा रुपान्तरणकारी योजना सम्पन्न गरेको बताए ।

गरुडा नगरपालिकाले अन्य पालिकाको तुलनामा धेरै काम गर्न सकेको भन्दै यसमा साथ र सहयोग गर्ने सबैप्रति उनले धन्यवाद ज्ञापन गरे ।

संघ र प्रदेशको सहकार्यमा नगरमा केहि ठूला आयोजना अघि बढेको र अरु योजनाहरु अगाडि बढ्ने क्रममा रहेको जयसवालको भनाइ थियो ।

दुई वर्षको अवधिमा नगरले विकासको क्षेत्रमा फड्को मार्न सफल भएको बताउँदै उनले नगरमा सञ्चालन अवस्थामा रहेको र अब सञ्चालन हुने विकास निर्माणका काम बारे जानकारी दिएका थिए । १७ करोडको लागतमा नगरपालिका कार्यालयको आफनै प्रशासकीय भवन निर्माण कार्य शुरु भइसकेको बताउँदै नगर प्रमुख जयसवालले गाउँ गाउँमा सडक, नाला निर्माण जस्ता भौतिक पूर्वाधार निर्माणका कामहरु द्रुत गतिमा अगाडि बढाइसकेको बताए ।

सबैको साथ, सहयोग रहेमा आफना कार्यकाल भित्रमा गरुडा नगरलाई एक विकसित र समृद्ध नगर बनाउने कल्पना सहित आफु अगाडि बढेकोले आफना अवधीमा गरुडा नगरलाई नमुना नगरको रुपमा विकास गरेर छाडने उनले प्रतिवद्धता जनाए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलमले स्वागत मन्तव्य राखेका थिए ।

त्यस्तै,कार्यक्रममा नगर उपप्रमुख पुनम देवी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष शेख वहाब, वडा नं.२ का अध्यक्ष कृष्णनन्दन सहनी, वडा नं. ३ का अध्यक्ष अम्बिका सहनी, वडा नं. ४ का अध्यक्ष सुनिल कुमार जयसवाल, वडा नं. ५ का अध्यक्ष रामबाबु चौधरी लगाएतका सम्पुर्ण कार्यपालिका सदस्य, अन्य  जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि रामेश्वर त्वाती,  जसपा नेपालका यूवा नेता एवं  दलित विकास समिति मधेश प्रदेशका सदस्य राजकुमार दास , पूर्व मेयर सहित विभिन्न पार्टीका नेता एवं पत्रकार सहितका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0