
अरमान कुमार उपाध्याय माघ १४ गते
रौतहट । माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले आज नगरपालिकाभित्र रहेका विभिन्न विद्यालय, स्वास्थ्य चौकी तथा निर्माणाधीन योजनाहरूको स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले शिक्षा, स्वास्थ्य र विकास निर्माणका कार्यहरूलाई प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको थियो।
प्रमुख प्रशासकीय अधिकृत यादवले सार्वजनिक सेवामा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न निरन्तर सक्रियता देखाउँदै आउनुभएको छ। उहाँको सक्रियताका कारण नगरपालिकाभित्रका विकास निर्माणका कामहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्।
यद्यपि, यति सकारात्मक र जिम्मेवार काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृतमाथि केही विपक्षी राजनीतिक दलका कार्यकर्ताहरूले आधारहीन तथा झुठा आरोप लगाएकोप्रति स्थानीयवासीहरूले गम्भीर आपत्ति जनाएका छन्। स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको भनाइमा, व्यक्तिगत वा राजनीतिक स्वार्थका कारण लगाइने यस्ता निराधार आरोपले सार्वजनिक प्रशासनको मनोबल गिराउने काम मात्र गर्दछ।
यस प्रकारका झुठा र भ्रामक आरोप लगाउने व्यक्तिहरूमाथि छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। नगरपालिकामा सुशासन र विकासको पक्षमा इमान्दारिताका साथ काम गर्ने कर्मचारीहरूको संरक्षण हुनु अत्यावश्यक रहेको स्थानीयको धारणा छ।
माधवनारायण नगरपालिकाका बासिन्दाहरूले प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको कार्यशैलीको प्रशंसा गर्दै यस्ता निराधार आरोपको कडा शब्दमा भर्त्सना गरेका छन्।






















